
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा नकारात्मक प्रचार र भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘पार्टी जागरण अभियान’को शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमालेलाई बदनाम गर्ने उद्देश्यले विभिन्न किसिमका भाष्य निर्माण गरिएको दाबी गरे। यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउन नसक्ने भन्दै उनले संगठनलाई अझ सशक्त बनाएर जनतामाझ पुग्नुपर्ने आवश्यकता औँल्याए।
वर्तमान सरकारप्रति टिप्पणी गर्दै ओलीले प्रचार र आकर्षक नाराको भरमा बनेको सरकार दीर्घकालीन रूपमा टिक्न नसक्ने जिकिर गरे। उनले जनविश्वास र कार्यसम्पादनका आधारमा मात्र सरकार स्थायी बन्न सक्ने धारणा राखे।
सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधानबारे बोल्दै उनले आफ्नो नेतृत्वको सरकारले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाएको स्मरण गराए। तर, सम्बन्धित आयोग अदालतको आदेशबाट खारेज भएपछि उक्त प्रक्रिया रोकिएको भन्दै त्यसबारेको वास्तविकता जनतालाई प्रभावकारी रूपमा जानकारी गराउन नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकार गरे।
पार्टी नेतृत्वमाथि हुने आलोचनाबारे प्रतिक्रिया दिँदै ओलीले पाँच दशकभन्दा लामो राजनीतिक संघर्ष, जेल जीवन र संगठन निर्माणको अनुभव स्मरण गरे। नेतृत्वमा रहने व्यक्तिले उपलब्धि र चुनौती दुवैको जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी सफल हुँदा सबैले श्रेय लिने तर समस्या आउँदा अध्यक्षलाई मात्रै दोष दिने प्रवृत्ति उचित नभएको बताए।
उनले लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितविपरीतका गतिविधि बढाउन खोजिएको आरोप पनि लगाए। समाजमा फैलाइएका भ्रम र गलत प्रचारको प्रतिवाद गर्न तथा पार्टीका धारणा जनतासम्म पुर्याउन नेता–कार्यकर्तालाई गाउँ–बस्ती र समुदायस्तरसम्म सक्रिय रूपमा परिचालन हुन उनले निर्देशन दिए।









Facebook Comments