नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत गतिविधिलाई निरन्तर अघि बढाए आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारले गरिरहेका त्रुटिपूर्ण कामप्रति धेरै पक्ष मौन बसेको टिप्पणी गरे। केही समयसम्म राजनीतिक अवस्थाको मूल्याङ्कन गर्ने र आवश्यकता परे आन्दोलनको बाटो रोज्ने तयारीमा पार्टी रहेको उनले बताए।

ad

उनले भने, “अहिले हामी उपयुक्त समयको प्रतीक्षामा छौँ। आवश्यक परे बोल्ने मात्र होइन, सशक्त रूपमा संघर्षमा पनि उत्रिन्छौँ।”

प्रचण्डका अनुसार भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रम सुशासन वा सुधारका नाममा नभई व्यापक अन्तर्राष्ट्रिय रणनीतिक योजनाको हिस्सा हुन्। नेपालको भूराजनीतिक अवस्थालाई प्रभाव पार्दै भारत र चीनमाथि नियन्त्रण कायम गर्ने उद्देश्यसहित ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत ती गतिविधि अघि बढाइएको बुझ्न कठिन नरहेको उनको दाबी थियो।

उनले पार्टीभित्रैबाट आफू तथा नेकपा नेतृत्वलाई कमजोर बनाउने र अपमानित गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। इतिहास, आन्दोलन र लामो संघर्षबाट निर्माण हुने नेतृत्व कसैको चाहनाले बन्ने वा हट्ने विषय नभएको उनको भनाइ थियो।

यद्यपि, राजनीतिक तथा सांगठनिक कार्यशैलीबारे गम्भीर समीक्षा र व्यापक छलफलपछि सक्षम नेतृत्व तयार भए आफू जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा उनले अन्य राजनीतिक दलसँग पार्टी एकताको बहसभन्दा आगामी महाधिवेशनको तयारीलाई प्राथमिकतामा राख्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।