काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग आफ्नो पार्टीले ‘हिसाब बाँकी’ राखेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै बस्नेतले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन र सर्वोच्च अदालतलगायतका सरकारी संरचनामा भएको आगजनीदेखि एमालेका नेता–कार्यकर्तामाथि भएको धरपकडसम्मका घटनाको जवाफ भविष्यमा मागिने बताएका हुन्।

ad

‘प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङसँग एमालेले एक–एक हिसाब राखेको छ। यसको हिसाब अवश्य हुनेछ, एक दिन हुन्छ, दुई दिन हुन्छ वा तीन दिनपछि हुन्छ,’ उनले भने।

बस्नेतले एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि अहिले पनि आधारहीन आरोप लगाएर दुःख दिने प्रयास भइरहेको दाबी गरे।

उनले प्रधानमन्त्री शाहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित विषय उठाउँदै आलोचना गरे भने गृहमन्त्री गुरुङमाथि पनि विभिन्न आरोप लगाए। पछिल्लो समय गृहमन्त्री ‘बेपत्ता’ भएको भन्ने समाचार सुनिएको उल्लेख गर्दै गलत काम गर्नेहरू अन्ततः उम्किन नसक्ने टिप्पणी गरे।

कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेको २४ घण्टा नबित्दै पक्राउ गर्ने प्रयास भएको दाबी गर्दै त्यसको पनि हिसाब हुने चेतावनी दिए।

बस्नेतले पार्टी र राज्य संयन्त्रकै तहबाट एमाले नेतृत्वविरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने काम भइरहेको आरोपसमेत लगाए।

उनले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न व्यक्तिहरू अहिले पनि सत्ताको संरक्षणमा रहेको दाबी गर्दै ती घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।