
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत जिम्मेवारी प्राप्त संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न प्रभावकारी देखिन नसकेको ठहर गरेको हो।
बैठकमा मन्त्रालयगत संयोजकहरूले पेश गरेका प्रतिवेदनमाथि समीक्षा गर्दै कार्यसूची कार्यान्वयनमा देखिएका कमजोरीलाई संसद्मा प्रमुख प्रतिपक्षीका तर्फबाट सशक्त रूपमा उठाउने निर्णय गरिएको छ।
कांग्रेसले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने, संसद्मा थप सक्रिय भूमिका निर्वाह गर्दै सरकारलाई जवाफदेही बनाउन पहल गर्ने तथा कार्यान्वयनमा देखिएका कमी–कमजोरीबारे निरन्तर प्रश्न उठाइरहने जनाएको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार सञ्चालनका लागि १०० दिन पाए मुलुकको अवस्था नै परिवर्तन गर्ने दाबी गरेको प्रसंग पनि उल्लेख गरिएको थियो। कांग्रेसका अनुसार अहिले रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको १०० बुँदे शासकीय सुधार कार्यसूचीसमेत प्रभावकारी रूपमा लागू हुन सकेको छैन।
यसैबीच, बैठकले मन्त्रालयगत संयोजकहरूले दिएका सुझाव र निष्कर्षका आधारमा सम्बन्धित मन्त्रालयहरूको कार्यसम्पादन सुधार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। साथै, संयोजकहरूले तयार पारेका प्रतिवेदन जानकारीका लागि पार्टीको केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरिएको छ।










Facebook Comments