
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो सय दिनमा सम्पन्न भएका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका सय दिने उपलब्धिबारे जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलका अनुसार उपलब्धिको सूचीको पहिलो प्राथमिकतामा संघीय मन्त्रालयको संख्या घटाउने निर्णय परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गरिएको उनले बताए।
उनले मन्त्रालयको संख्या कटौतीसँगै राज्यको वार्षिक खर्चमा करिब २० अर्ब रुपैयाँसम्म बचत हुने प्रारम्भिक अनुमान रहेको जानकारी दिए। साथै, विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत अनावश्यक खर्च नियन्त्रण गर्दै प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको उनको भनाइ थियो।
यस्तै, राजनीतिक दलसँग आबद्ध ट्रेड युनियन र विद्यार्थी संगठनको खारेजीसहितका सुधारात्मक कदमले सुशासन र प्रशासनिक सुधारतर्फ सकारात्मक संकेत दिएको दाबी पनि प्रवक्ता पोखरेलले गरे।










Facebook Comments