काठमाडौं । नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सरकार अपरिपक्व, फितलो र विवादास्पद बनेको टिप्पणी गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकारको कार्यशैली नीतिगत तथा संवैधानिक रूपमा विचलित भएको आरोप लगाएका छन्। विज्ञप्तिअनुसार घोषणापत्र र सरकारी नीतिबीच तालमेल नदेखिएको, संविधान संशोधनको प्रक्रिया अपारदर्शी बनाइएको तथा संघीयताको मर्मविपरीत गतिविधि भएको एमालेको दाबी छ।

ad

एमालेले सुशासनको नाममा प्रतिशोधपूर्ण र स्वेच्छाचारी शैली अपनाइएको आरोपसमेत लगाएको छ। साथै राष्ट्रियता, कूटनीति र परराष्ट्र नीतिका विषयमा सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै सरकारले १०० दिनमै असफलताको संकेत दिएको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा सरकार जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुभन्दा सस्तो लोकप्रियता र विवादास्पद निर्णयतर्फ केन्द्रित भएको आरोप लगाइएको छ। आर्थिक संकट समाधान, विधिको शासन सुदृढ गर्ने तथा सुशासन कायम गर्ने विषयमा सरकारले उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको एमालेको भनाइ छ।

महासचिव पोखरेलले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै आगामी दिनमा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र सुशासनप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन्।