काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको अर्थ तथा योजना उपसमितिले सरकारका कामकारबाहीको विस्तृत मूल्याङ्कन गर्ने तयारी गरेको हो।

प्रतिष्ठानका प्रमुख तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माका अनुसार समीक्षा कार्यक्रम असार २१ गते आयोजना गरिनेछ। उनका अनुसार सरकारको १०० दिने अवधिमा भएका निर्णय, उपलब्धि र कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षबाट विश्लेषण गरिनेछ।

ad

अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलको नेतृत्वमा रहेको टोलीले सरकारले १०० दिनमा गरेका कामको बुँदागत अध्ययन गरी प्रतिवेदन तयार गर्ने तयारी गरेको छ। समीक्षा क्रममा सरकारका नीति, आर्थिक व्यवस्थापन, शासकीय सुधार तथा समग्र कार्यसम्पादनलाई समेटिने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमतसहित सरकार गठन गरेको थियो। चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका थिए।

यसैबीच सरकारले पनि आफ्नो १०० दिनको कार्यसम्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सरकारले शासकीय सुधारसँग सम्बन्धित १०० कार्यसूची सार्वजनिक गरी सोही आधारमा कार्यान्वयन अघि बढाएको जनाएको छ।

सरकारले उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले पनि त्यसको स्वतन्त्र समीक्षा गर्ने तयारी गरेसँगै सरकारका प्रारम्भिक कामकारबाहीबारे राजनीतिक बहस थप तीव्र हुने अपेक्षा गरिएको छ।