काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेको बताएका छन् ।  

एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानु जरुरी रहेको बताए ।

ad

उनले तत्काल पार्टी एकताको सम्भावना नरहेको र त्यस्तो भ्रममा नपर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले गत फागुन २१ गतेको निर्वाचन २०८२ भदौ २३ र २४ गते गरिएका अपराधलाई वैधानिकता दिन मञ्चन गरिएको नाटक भएको पनि बताए ।

उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनका घटनामा सुरक्षा संयन्त्र किन निस्प्रभावी भए ? भन्ने विषय उल्लेख नभएकाले ती अपराध घटनालाई ढाकछोप गर्न आयोग बनेको स्पष्ट भएको दावी गरे ।