
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरुको मतदान सकिएको छ । बुधबार रातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो ।
शुक्रबार दिउँसोे १२ बजेसम्म पहिलो चरणको मतदान भएको हो । निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आंकलन रास्वपाका नेताहरुले गरेका छन् । रास्वपाको विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।
पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो ।










Facebook Comments