काठमाडौं । नेपालको प्रमुख निर्यात गर्ने वस्तुको रूपमा रहेको चिया निर्यातमा भारतले अघोषित नाकाबन्दी गरेपछि पूर्वी नेपालमा रहेका उद्योगहरू बन्द हुँदा झन्डै ६० हजार श्रमिकहरू मर्कामा परेका छन् । भारतले निर्यातमा रोक लगाएपछि झापा र इलाममा गरेर ८६ वटा चिया उद्योग र १२ चिया बगान बन्द भएको जनाइएको छ । चियाको पकेट क्षेत्रको रूपमा झापा र इलामले बर्सेनि अर्बौंको कारोबार गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ अर्बको कारोबार भएका थियो । झापा र इलाममा उत्पादिक चिया भारत र केही मात्रामा तेस्रो मुलुक जर्मनी, अमेरिका र जापानमा निर्यात हुने गरेको छ । गत वर्ष नेपालले ४ अर्ब ७५ करोडभन्दा बढी विदेशी मुद्रा नै चिया निर्यातबाट आर्जन गरेको थियो भने राज्यले १ अर्ब त राजस्व नै पाएको थियो । तर भारतीय टी बोर्डले प्रयोगशाला परीक्षणको बहानामा भुक्तानी र निर्यात रोकेपछि अहिले दैनिक करोडौंका चिया कारोबार ठप्प भएको छ । यसलाई खुलाउने प्रयास सरकारले नगरेको चिया कृषकहरूले बताएका छन् । 

पूर्वी नेपालको ‘हरियो सुन’ भनिने चियाबाट दैनिक रूपमा करोडौँ केजी हरियो पत्ती उत्पादन हुने र वार्षिक साढे चार अर्बभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने देशको यो बलियो आर्थिक खम्बा ढल्न लाग्दा पनि सम्बन्धित निकायहरू भने कानमा तेल हालेर मूकदर्शक बनेका छन्, जसले गर्दा सिंगो चिया क्षेत्र अभिभावकविहीन जस्तै बन्न पुगेको छ ।

ad

उद्योगीहरूका अनुसार चिया निर्यातमा संकट आउनुको मुख्य कारण भारतीय टी बोर्डले लागू गरेको नयाँ झन्झटिलो प्रक्रियागत व्यवस्था हो, जसअन्तर्गत पहिले सीमानाकामै रोकिने नेपाली चिया अहिले भारत पुगेपछि गोदाममा थन्किएका छन् । कोलकाता पुगेको आठ–दस दिनपछि मात्र नमुना संकलन गर्ने र प्रयोगशाला परीक्षणको प्रतिवेदन आउन थप १५ देखि २० दिन लगाउने भारतीय अभ्यासले चियाको सिंगो व्यापारिक चक्र नै भत्काइदिएको छ । रिपोर्ट नआएसम्म चिया बेच्न र भुक्तानी पाउन नसकिने भएपछि उद्योगीहरू उत्पादन नै रोक्न बाध्य भएका छन्, जसका कारण अहिले इलाम र झापाबाट मात्रै करिब ३ लाख किलो तयारी चिया भारततर्फका गोदाममा थन्किएको छ भने नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा थुप्रिएर अर्बौंको लगानी जोखिममा परेको छ ।

चिया खेतीमा समयको निकै ठूलो महत्व हुन्छ र निश्चित समयमा टिपिएका कोमल ‘दुई पात एक सुइरो’ले मात्रै गुणस्तरीय चिया बन्ने हुँदा पत्ती टिप्न थोरै मात्र ढिलो भए पनि त्यो बुढो भई गुणस्तर र मूल्य स्वतः घट्ने जोखिम हुन्छ । तर, यो संकटको सबैभन्दा कठोर मार दैनिक ज्यालादारीमा निर्भर करिब ६५ हजार चिया मजदुरलाई परेको छ, जसको चिया टिप्ने, बोक्ने, प्रशोधन गर्ने र प्याकिङ गर्ने दैनिक ज्यालाबाटै साँझको चुलो बल्ने गर्दथ्यो । उद्योगका मेसिनहरू बन्द भएसँगै उनीहरूको आयस्रोत र दैनिकी एकैपटक खोसिएर अनिश्चित बनेको छ, जसले चिया क्षेत्रको यो संकट केवल उद्योगी र किसानको मात्र नभई हजारौँ नागरिकको रोजीरोटीको गम्भीर मानवीय सवालसमेत बनेको पुष्टि गर्दछ ।

चिया क्षेत्रको संकटबारे प्रतिनिधिसभामा इलामका सांसद निश्कल राईलगायत जनप्रतिनिधिले लगातार आवाज उठाइरहेका छन् र सरकारले गम्भीरता नदेखाएको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । संसदीय समितिले समेत सरकारलाई कूटनीतिक पहल गरेर निर्यात खुलाउन तत्काल निर्देशन दिइसकेको भए पनि सरकारले देखाएको उदासीनताले चिया क्षेत्रका सरोकारवालाहरूलाई आक्रोशित बनाएको छ । भारतीय बजारमा नेपाली चियालाई गुणस्तर परीक्षणको नाममा अल्झाएर विस्थापित गर्ने रणनीति स्पष्ट देखिँदा पनि सरकारले बलियो कूटनीतिक प्रतिवाद गर्न नसक्नु लाजमर्दो विषय बनेको टिप्पणी हुन थालेको छ ।