काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरी ज्यान गुमाएका मुगुका गणेश नेपालीको पीडित परिवारलाई प्रतिनिधि सभा सदस्य विष्णुबहादुर खड्काले २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।

सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिकबापत प्राप्त हुने रकममा थप व्यक्तिगत रकम जोडेर कुल २५ हजार रुपैयाँ मङ्गलबार पीडित परिवारलाई प्रत्यक्ष भेट गरी बुझाउनुभएको हो। यसअघि नै उहाँले नेपालीको असामयिक र दुखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो तीन दिनको सेवा सुविधाबापतको रकम राहत स्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो।

ad

राहत रकम हस्तान्तरण गर्दै सांसद खड्काले काठमाडौँमा मजदुरी तथा श्रम गरेर जीविकोपार्जन गर्दै आएका दुर्गम जिल्लाका नागरिकले व्यहोर्नुपरेको यो अत्यन्तै पीडादायी र कारुणिक घटनाले राज्यव्यवस्थालाई नै स्तब्ध बनाएको बताउनुभयो।

उहाँले यस्ता हृदयविदारक घटना दोहोरिन नदिन श्रमजीविको अधिकार, सुरक्षा र समयमै उचित पारिश्रमिक पाउने वातावरण सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। साथै, उहाँले विपन्न र पहुँचविहीन नागरिकका लागि रोजगारीका साथै सामाजिक सुरक्षाको बलियो ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो।

अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको मृतक नेपालीको परिवारलाई यो सानो सहयोगले तत्कालका लागि राहत पुग्ने अपेक्षा गरिएको छ।