
काठमाडौं । नेपाली कांग्रेसले यही जेठ २१ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी सो निर्णय गरेको हो ।
कांग्रेसले सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएर काम गरिरहेको जनाएको छ ।
समितिले क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत् फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।
अनलाइनमार्फत् अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर ‘एआई साथी’सँग सहयोग लिन सकिने व्यवस्था पनि समितिले गरेको छ ।
केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्बर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।
समितिले ९७०१२५५५५५ मा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर पनि फोनबाटै अद्यावधिकको फारम भर्ने व्यवस्था मिलाएको छ ।
कांग्रेस सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने कांग्रेसले जनाएको छ ।










Facebook Comments