
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको नाम, चारतारे झण्डा र रुख चुनाव चिह्न प्रयोग गर्ने आफ्नो अधिकार कसैले खोस्न नसक्ने दाबी गरेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट प्रस्तावित १५औँ महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरू नै आधिकारिक कांग्रेस भएको जिकिर गरेका हुन्।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित हुने कार्यसमिति नै पार्टीको आधिकारिक नेतृत्व हुने बताए। पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोगमा रोक लगाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो। विगतमा न्याय निरूपणका क्रममा त्रुटि भएको दाबी गर्दै पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वाससमेत उनले व्यक्त गरे।
यद्यपि, सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदै आफ्नो पक्षमा निर्णय भएको दाबी गर्नुको औचित्य नरहेको महतले स्पष्ट पारे। आफूहरू विभाजन नभई एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्दै महाधिवेशनबाट सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिने उनले बताए।
देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरेर तयारी अघि बढाइएको महतले जानकारी दिए।







Facebook Comments