काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानी, संयुक्त उद्यम र व्यावसायिक सहकार्यका अवसर उपयोग गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उल्लेख गर्दै भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा भएको नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पु¥याउनुपर्ने बताए ।

ad

उनका अनुसार भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । गत वर्ष नेपाल र भारतबीच करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी भारततर्फ हुने गरेको र कुल वैदेशिक प्रत्यक्ष लगानीमा भारतीय लगानीको हिस्सा करिब एकतिहाइ रहेको उनले जानकारी दिए ।

यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार आउन नसकेको उनको भनाइ थियो । सरकारले विदेशी लगानीका लागि १०२ उद्योगमा स्वचालित स्वीकृतिको व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालन गरेको उनले बताए । त्यस्तै, ५९ वटा ऐनका करिब ५०० दफामा संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले लगानीको वातावरण थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सरकारले लगानीसम्बन्धी कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि पहल भइरहेको बताए । नेपालमा लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आग्रह गरे ।

भारतीय उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकासमा भारत सकारात्मक रहेको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा भारतीय लगानीका अवसर रहेको बताए ।

व्यापारका अवरोध हटाउन सात क्षेत्रमा सहकार्यको प्रस्ताव

अध्यक्ष श्रेष्ठले नेपाल–भारत आर्थिक साझेदारी विस्तारका लागि व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सात क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए ।

नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, दुवै देशका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता र भारतीय बन्दरगाह तथा रेल सेवाको प्रभावकारी उपयोग गर्नुपर्ने उनको सुझाव थियो । भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापारिक तथा लजिस्टिक हबका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सीमावर्ती जाँच चौकीसम्म रेल सम्पर्क, भैरहवा र पोखरामा थप हवाई उडान तथा डिजिटल भुक्तानी प्रणाली विस्तार गर्नुपर्ने उनले बताए । द्रुतमार्ग, विमानस्थल, औद्योगिक पार्क र सहरी पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

ऊर्जा, पर्यटन र कृषिमा लगानीको अवसर

नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्ने बताए । पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिलाई भारतीय लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले संयुक्त लगानीमार्फत प्रविधि हस्तान्तरण र नेपाली जनशक्तिको क्षमता विकासमा सहकार्य गर्न आग्रह गरे ।

उनले नेपालबाट भारततर्फ हुने निर्यातमा देखिएका अवरोधसमेत उठाए । नेपाली जुट उत्पादनमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ शुल्क र प्रस्तावित काउन्टरभेलिङ शुल्कले पूर्वी नेपालका किसान तथा श्रमिकको रोजगारीमा असर पार्ने उनको भनाइ थियो । त्यस्तै, नेपाली स्टिलमा भारतले सेफगार्ड ड्युटी लगाएपछि गत आर्थिक वर्षमा भारततर्फको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले जानकारी दिए ।

भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रियामा सुधार भए पनि प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थको प्रमाणीकरणसम्बन्धी जटिलता कायम रहेको उनले बताए । यी समस्या समाधानका लागि एफएनसीसीआई र सीआईआईबीच व्यापार उपचार तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गरी दुवै देशका सरकारलाई साझा सुझाव दिनुपर्ने प्रस्ताव पनि उनले राखे । नेपाल–भारत व्यापार विस्तारका लागि सुरक्षित तथा व्यवस्थित सीमा प्रणाली, कार्गो ट्र्याकिङ, सिलबन्दी र समयमै भन्सार जाँचपास सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता र लगानीको कानुनी तथा भौतिक सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ थियो । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै श्रेष्ठले दुवै देशका आर्थिक लक्ष्य हासिल गर्न निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।