काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना पदाधिकारी तथा सदस्यलाई राजनीतिक दल र राजनीतिक उद्देश्यबाट सञ्चालित संस्थासँगको आबद्धता अन्त्य गर्न सात दिनको समय दिएको छ।

संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. चिरञ्जीवी खड्काले परिपत्र जारी गर्दै सात दिनभित्र राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका हुन्।

ad

गत महिना सम्पन्न परिषद्को ११७औँ बैठकले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरिएको खड्काले जानकारी दिएका छन्।

संघलाई राजनीतिक प्रभावबाट अलग राख्दै यसको स्वतन्त्र र गैरराजनीतिक पहिचान कायम गर्ने उद्देश्यले निर्देशन जारी गरिएको उनको भनाइ छ।

एनआरएनएको विधानले नै संस्थालाई गैरराजनीतिक चरित्रको परिकल्पना गरेको उल्लेख गर्दै खड्काले सबै पदाधिकारी तथा सदस्यलाई विधानको व्यवस्थाअनुसार अघि बढ्न आग्रह गरेका छन्।

नयाँ निर्देशनअनुसार संघमा आबद्ध पदाधिकारी तथा सदस्यले राजनीतिक दल र राजनीतिक उद्देश्य बोकेका संस्थासँगको सम्बन्ध तोड्नुपर्नेछ। तोकिएको समयभित्र निर्देशन पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

संघले यो निर्णयमार्फत संस्थाको सांगठनिक स्वतन्त्रता र गैरराजनीतिक चरित्रलाई थप व्यवस्थित गर्न खोजेको देखिन्छ।