
काठमाडौं।काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। आगलागीबाट उद्योगका मेसिन तथा गोदाममा राखिएका तयारी सिरक र डसनामा क्षति पुगेको छ।
उद्योग सञ्चालक चौधरीका अनुसार आगलागीमा तीनवटा मेसिनसहित गोदाममा भण्डारण गरिएका सिरक–डसना जलेर नष्ट भएका छन्। घटनाबाट करिब २० देखि २५ लाख रुपैयाँसम्मको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आगलागीबाट उद्योगको उत्पादन तथा भण्डारण सामग्रीमा क्षति पुगेपछि सञ्चालकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।








Facebook Comments