काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरलगायतका क्षेत्रमा सडक निर्माण तथा मर्मतको काम गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिबारदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म राजमार्गमा यातायात सञ्चालन बन्द गरिनेछ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहनेछ।

ad

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले सडक निर्माण कार्यलाई सहज बनाउन निश्चित समयका लागि सवारी आवागमन रोक्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार निर्माण कार्यका कारण दैनिक कति दिनसम्म यातायात बन्द गर्नुपर्ने भन्ने यकिन भइसकेको छैन।

सवारी आवागमन बन्द हुँदा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमै रोकिने व्यवस्था मिलाइएको छ। त्यसैगरी नारायणगढ हुँदै आउने सवारीलाई जुगेडी र आँपटारी क्षेत्रमा रोकिनेछ। केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोक्ने तयारी गरिएको छ।

तर मुग्लिन बजार क्षेत्रमा भने सवारीसाधन नरोक्ने ट्राफिक प्रहरीले जनाएको छ।

सडक निर्माणका क्रममा हुन सक्ने जाम र यात्रुको असुविधालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका चालक तथा यात्रुलाई यात्रा गर्नुअघि समय व्यवस्थापन गर्न आग्रह गरिएको छ।

निर्माण कार्य सम्पन्न नभएसम्म दैनिक पाँच घण्टा यातायात प्रभावित हुने भएकाले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालकले वैकल्पिक समयको व्यवस्थापन गर्नुपर्ने देखिएको छ।