काठमाडौं।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतको सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समिति संयोजकमा चयन भएका छन्।माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको नेतृत्व दिने निर्णय गरेको हो।

व्यावसायिक क्षेत्रमा लामो अनुभव हासिल गरेका ढकाल पर्यटन पूर्वाधारमा लगानी गर्ने व्यवसायीका रूपमा पनि परिचित छन्। उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धन र लगानीमा संलग्न छन्।

ad

नयाँ जिम्मेवारी पाएपछि ढकालले दक्षिण एसियालाई विश्वकै आकर्षक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न क्षेत्रीय सहकार्य र लगानी विस्तारमा जोड दिएका छन्। उनका अनुसार दक्षिण एसियाको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा पर्यटन विकासका प्रमुख आधार हुन्। सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, समुद्री तट, वनजङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले यस क्षेत्रलाई पर्यटनका दृष्टिले विशिष्ट बनाएका छन्।

विश्वको करिब एक चौथाइ जनसङ्ख्या रहेको दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएकाले त्यसको सम्भावना उपयोग गर्न पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको धारणा छ। ढकालले सार्क राष्ट्रका प्रतिष्ठित होटल तथा आतिथ्य सेवासम्बन्धी ब्रान्डलाई एकअर्काको बजारमा विस्तार गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। अन्तरदेशीय लगानीले आर्थिक पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुर्‍याउने उनको भनाइ छ।

नेपालमा पनि सार्क राष्ट्रका लगानीकर्ता तथा स्थापित होटल चेनलाई पर्यटन पूर्वाधारमा लगानीका लागि आकर्षित गर्न सकिने उनले बताएका छन्। यसबाट नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय बजारसम्म विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। सार्क सदस्य राष्ट्रका विभिन्न पर्यटकीय गन्तव्यलाई जोडेर साझा पर्यटन सर्किट तथा प्याकेज तयार गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय र साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनको भनाइ छ।

ढकालले पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको सम्पर्क सञ्जाल विस्तारलाई अर्को महत्त्वपूर्ण विषयका रूपमा अघि सारेका छन्। सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थल यातायातको पहुँच बढाउन सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनले बताएका छन्।

यसका लागि नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्नुपर्ने उनको धारणा छ।

दक्षिण एसियाको पर्यटन सम्भावना उपयोग गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले नीतिगत समन्वय र व्यावसायिक साझेदारी विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

सार्क क्षेत्रको समग्र पर्यटन विकास, अन्तरदेशीय लगानी विस्तार र साझा आर्थिक समृद्धिका लागि आफ्नो जिम्मेवारीलाई परिणाममुखी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।