
विराटनगर ।विराटनगरमा होटल, रेस्टुरेन्ट तथा मनोरञ्जनस्थल अब राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले व्यवसायको प्रकृति र सुरक्षासम्बन्धी मापदण्डका आधारमा रात्रिकालीन कारोबारको समय निर्धारण गर्दै अनुमति दिने प्रक्रिया सुरु गरेको छ।
यसअघि राति १० बजेभित्रै होटल तथा रेस्टुरेन्ट बन्द गर्नुपर्ने प्रशासनको निर्देशन र समय बढाउनुपर्ने व्यवसायीको मागबीच विवाद हुँदै आएको थियो। नयाँ व्यवस्थाले निश्चित सर्त पूरा गर्ने व्यवसायलाई मध्यरातपछि पनि सञ्चालन गर्न बाटो खोलेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार प्रशासनले ‘रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरेर अनुमति वितरण प्रक्रिया अघि बढाएको हो।
राति १० बजेपछि पनि व्यवसाय सञ्चालन गर्न चाहने सञ्चालकले सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। प्राप्त निवेदनका आधारमा अनुगमन समितिले व्यवसायस्थलको निरीक्षण गरी मापदण्ड पूरा भए नभएको यकिन गर्नेछ।
‘मापदण्ड पूरा गरेको व्यवसायले मात्रै राति १० बजेपछिको सञ्चालन अनुमति पाउँछ,’ कोइरालाले बताए। उनका अनुसार मङ्गलबारदेखि नै अनुमतिका लागि निवेदन लिन थालिएको छ।
नयाँ व्यवस्थाअनुसार पान पसल, मिठाई पसल, चिया, आइसक्रिम, किराना, खाना तथा खाजा पसल र रेस्टुरेन्टले अनुमति पाए राति १२ बजेसम्म कारोबार गर्न पाउनेछन्। दोहोरी तथा गजल सञ्चालन हुने व्यवसायलाई पनि मध्यरातसम्म सेवा दिने अनुमति दिइनेछ।
त्यस्तै, पब, डिस्को, डान्स क्लब, लाउन्ज बार तथा लाइभ म्युजिक सञ्चालन हुने स्थलले भने आवश्यक मापदण्ड पूरा गरी अनुमति पाए राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनेछन्। राति १० बजेसम्म कारोबार गर्न भने अतिरिक्त अनुमति लिनुपर्ने छैन।
व्यवसायीको विरोधपछि समयसीमा परिवर्तन
विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालनको समयलाई लिएर विवाद चर्किएपछि प्रशासनले नयाँ मापदण्ड ल्याएको हो।
यसअघि कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायीलाई राति १० बजेभित्र प्रवेशद्वार बन्द गर्न र साढे १० बजेसम्म सबै ग्राहकलाई बाहिर निकालिसक्न निर्देशन दिएको थियो।
उक्त निर्देशनप्रति व्यवसायीले असन्तुष्टि जनाएका थिए। राति अबेरसम्म यात्रु र ग्राहकको आवागमन हुने विराटनगरमा होटल तथा रेस्टुरेन्टको समय सीमित गर्दा व्यवसाय प्रभावित हुने उनीहरूको तर्क थियो।
विराटनगर विमानस्थलको उडान समय, लामो दूरीका यात्रु तथा सीमावर्ती भारतीय सहरबाट हुने आवागमनलाई समेत ध्यानमा राखेर व्यवसाय सञ्चालनको समय निर्धारण गर्नुपर्ने माग व्यवसायीले अघि सारेका थिए।
यस विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। सुरक्षा व्यवस्थापनका नाममा व्यवसायको समय सीमित गर्नुभन्दा राज्यले नागरिकलाई चौबीसै घण्टा सुरक्षा दिनुपर्ने उनको धारणा थियो।
व्यवसायीको दबाब र प्रशासनको सुरक्षा चासोलाई समेटेर नयाँ मापदण्ड तयार पारिएको हो।
मदिरा कारोबारमा छुट्टै समयसीमा
नयाँ मापदण्डले रात्रिकालीन व्यवसायलाई समय थप गरे पनि मदिरा बिक्री तथा सेवनमा भने छुट्टै सीमा निर्धारण गरेको छ।
मदिरा बिक्री गर्ने पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा मनोरञ्जनस्थलमा दिउँसो १२ बजेअघि मदिरा बिक्री तथा सेवन गराउन निषेध गरिएको छ।
त्यस्तै, शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि मदिरा बिक्री तथा सेवन गर्न पाइने छैन। यसअनुसार मनोरञ्जनस्थल राति २ बजेसम्म सञ्चालन गर्न पाए पनि मदिरा कारोबार भने तोकिएको समयपछि गर्न पाइने छैन।
सीसीटीभीदेखि पार्किङसम्म अनिवार्य
रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति लिन सञ्चालकले सुरक्षा र भौतिक पूर्वाधारसम्बन्धी विभिन्न सर्त पूरा गर्नुपर्नेछ।
व्यवसाय परिसर तथा आसपासको कम्तीमा एक सय मिटर क्षेत्र पर्याप्त प्रकाशयुक्त बनाउनुपर्ने मापदण्ड छ। प्रवेशद्वार र सडकसमेत देखिने गरी सीसीटीभी जडान गर्नुपर्नेछ भने त्यसको दृश्य कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्नेछ।
त्यस्तै, ध्वनि प्रदूषण नियन्त्रण गर्न साउन्डप्रुफ संरचना निर्माण, अग्नि नियन्त्रण उपकरणको व्यवस्था, आपत्कालीन निकास र पर्याप्त पार्किङ अनिवार्य गरिएको छ।
राति १० बजेपछि घरबाहिर निस्कने ग्राहकले आफ्नो परिचय खुल्ने कागजात साथमा राख्नुपर्नेछ। सुरक्षाकर्मीले मागेको अवस्थामा त्यस्तो कागजात देखाउनुपर्ने व्यवस्था गरिएको छ। होटलमा बस्ने नेपाली तथा विदेशी नागरिकको परिचयपत्र र राहदानीको विवरण पनि व्यवस्थित रूपमा राख्नुपर्नेछ।
मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने जिम्मेवारी व्यवसाय सञ्चालककै हुनेछ। त्यसका लागि अतिरिक्त शुल्क लिएर भए पनि ग्राहकलाई सवारीसाधनको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
मनोरञ्जनस्थलमा १८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध गरिएको छ। धूमपान गर्नेका लागि छुट्टै क्षेत्र बनाउनुपर्ने तथा सुर्ती र मदिरासम्बन्धी प्रचलित निषेधात्मक व्यवस्थाको पालना गर्नुपर्नेछ।
कर्मचारीको सुरक्षा र अधिकार पनि समेटियो
मापदण्डले रात्रिकालीन व्यवसायमा कार्यरत कर्मचारीको श्रम अधिकार र सुरक्षालाई समेत समेटेको छ।
व्यवसाय सञ्चालकले कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने र अतिरिक्त समय काम गरेबापत अतिरिक्त सुविधा दिनुपर्नेछ। कर्मचारीको जोखिम बिमा गर्नुपर्ने तथा तलब बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
राति काम गर्ने कर्मचारीलाई घरबाट ल्याउने र पुर्याउने यातायात तथा खानाको व्यवस्था पनि व्यवसायीले नै गर्नुपर्नेछ। महिला कर्मचारीका लागि सुरक्षित पोसाक परिवर्तन कक्ष र स्तनपान कक्ष निर्माण गर्नुपर्ने प्रावधानसमेत राखिएको छ।
कार्यसमयमा कर्मचारीले मदिरा सेवन गर्न वा ग्राहकसँगै बसेर खानपिन गर्न पाउने छैनन्।
त्यसैगरी, स्पा, मसाज पार्लर तथा क्याबिनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न छुट्टै व्यवस्था गरिएको छ। त्यस्ता व्यवसायका ढोकामा भित्रबाट चुकुल वा ताल्चा लगाउन नपाइने तथा स्पामा तालिम र प्रमाणपत्र प्राप्त व्यक्तिले मात्रै काम गर्न पाउने व्यवस्था गरिएको छ।
उल्लंघन गरे अनुमति रद्द हुन सक्ने
नयाँ मापदण्ड कार्यान्वयन र अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विराटनगर महानगरपालिका र व्यवसायीका प्रतिनिधि रहनेछन्।
समितिले नियमित तथा आकस्मिक अनुगमन गर्नेछ। मापदण्ड उल्लंघन गर्ने वा ध्वनि प्रदूषण गर्ने व्यवसायको रात्रिकालीन सञ्चालन अनुमति रद्द गर्न सकिने व्यवस्था गरिएको छ। उल्लंघनकर्तालाई प्रचलित कानुनअनुसार कारबाहीसमेत गरिनेछ।
यो व्यवस्था विराटनगर महानगरपालिकाभित्र पूर्वमा केशलिया खोला, पश्चिममा सिंगिया खोला, उत्तरमा विराटनगरको स्वागत गेट र दक्षिणमा रानी क्षेत्रसम्म लागू हुनेछ। गृह मन्त्रालयको ‘पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ लाई आधार बनाएर स्थानीय मापदण्ड तयार पारिएको प्रशासनले जनाएको छ।
नयाँ व्यवस्थाले रात्रिकालीन व्यवसाय सञ्चालनको समयबारे लामो समयदेखि रहँदै आएको अन्योल हट्ने व्यवसायीको अपेक्षा छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका उपाध्यक्षसमेत रहेका विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठले राति १० बजे नै बजार बन्द हुँदा बाहिरबाट आउने यात्रु र ग्राहकले समस्या भोग्नुपरेको बताए।
‘देशका विभिन्न भाग तथा भारतबाट समेत ठूलो सङ्ख्यामा मानिस आउने विराटनगरमा राति १० बजे नै सहर ठप्प हुँदा यात्रु र व्यवसायी दुवैलाई समस्या थियो,’ उनले भने, ‘अब व्यवसायीले समय बढाउन प्रशासनसँग पटकपटक आग्रह गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरेका छौँ। प्रशासनले पनि सुरक्षा र अनुशासनका सर्तमार्फत रात्रिकालीन गतिविधि नियमन गर्न सक्नेछ।’









Facebook Comments