काठमाडौं।आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिबीचको असन्तुलन व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो।

ad

प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाउनेछ। तर बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समय भने आयातका लागि खुला गरिएको छैन।

प्राप्त अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट विद्युत् आयात गर्न सकिनेछ। त्यस्तै, न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट थप ५० मेगावाट आयात गर्न अनुमति दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आयातको स्वीकृति प्राप्त भएकाले आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए।

उनका अनुसार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुर्‍याउँदा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन्। उक्त अवस्थालाई समेत ध्यानमा राखेर हिउँदयामको माग व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको उनले बताए।

माघ–फागुनमा ५०० मेगावाटसम्म निरन्तर आयात गर्नुपर्ने अनुमान

प्राधिकरणले गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार बनाएर गरेको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनले माग धान्न कठिन हुने देखिएको छ।

विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् भारतबाट आयात गर्नुपर्ने अनुमान प्राधिकरणको छ। उच्च माग हुने समयमा भने आयातको परिमाण दैनिक ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ। वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा जलविद्युत् उत्पादनमा सुधार आउने र भारतबाट हुने आयात क्रमशः घट्ने प्राधिकरणको अपेक्षा छ।

आन्तरिक उत्पादन बढ्दै गएपछि विद्युत् आयात घटाएर निर्यात सुरु गर्न सकिने अवस्था आउने पनि प्राधिकरणको आकलन छ।

५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि अनुमति

यसैबीच, प्राधिकरणले नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि स्वीकृति पाएको छ।

प्राप्त अनुमतिअनुसार २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म उक्त विद्युत् भारतको आईईएक्स बजारमा बिक्री गर्न सकिनेछ।

हिउँदमा आन्तरिक उत्पादन घट्दा भारतबाट विद्युत् खरिद गर्ने र नदीमा पानीको बहाव बढेर उत्पादन वृद्धि भएपछि भारतमै बिक्री गर्ने व्यवस्थाले नेपालको विद्युत् प्रणालीको माग र आपूर्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।