
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा पशु वधशाला तथा मासु जाँच ऐन २०५५ औपचारिक रूपमा लागू भएको छ ।
पशु सेवा विभागले काठमाडौं, भक्तपुर र ललितपुरका तीन वधशालाबाट स्वच्छ मासु उत्पादन, जाँच र छाप लगाउने प्रक्रिया सुरु गरेको छ ।
ऐनमा भएका मुख्य व्यवस्थामा वध गरिने पशुपन्छीको वधपूर्व (एन्टिमर्टम) र वधपश्चात अनिवार्य स्वास्थ्य परीक्षण गरी खान योग्य प्रमाणित भएपछि मात्र आधिकारिक छाप लगाइएको मासु बिक्रीवितरण गर्न पाइनेछ। मासुमा छाप लगाउन प्रयोग हुने मसी फुड ग्रेड (खानयोग्य) हुनेछ।
यस्तै पशु वधशाला सञ्चालन गर्न र मासु पसल खोल्न अब सरकारी निकायबाट अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ
भने एउटा जनावरको मासुमा अर्को जनावरको मासु मिसाउन, तौल बढाउन वा स्वादरगुण परिवर्तन हुने गरी कुनै बाह्य रसायन वा पदार्थ मिसाउन पूर्णरूपमा रोक लगाइएको छ।
बिना इजाजत वधशाला सञ्चालन गरेमा वा रोगी पशुपन्छीको दूषित मासु बिक्री गरेमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना र १ देखि ३ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ।








Facebook Comments