काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक खुलामञ्चमा पुनः दुबो रोप्ने काम थालेको छ। महाधिवेशनका गतिविधिका कारण बिग्रिएको खुलामञ्चको हरियाली र सौन्दर्य पुनःस्थापना गर्ने उद्देश्यले कांग्रेस महानगर समितिले दुबो रोप्ने अभियान सञ्चालन गरेको हो।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण तथा हजारौँ मानिसको चहलपहलले खुलामञ्चको दुबो र जमिनमा क्षति पुगेको थियो। त्यसलाई सुधार गर्दै सार्वजनिक स्थललाई पुरानै अवस्थामा फर्काउन पार्टीका नेता तथा कार्यकर्ता श्रमदानमा जुटेका छन्।

ad

अभियानअन्तर्गत क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो सम्याउने र हरियाली संरक्षणका काम भइरहेको छ। खुलामञ्चमा रोप्नका लागि चितवनबाट दुबो ल्याइएको कांग्रेस महानगर समितिका सभापति इन्जिनियर सुशन वैद्यले जानकारी दिए।

उनका अनुसार पछिल्लो एक महिनादेखि खुलामञ्चमा नियमित सिँचाइ, मलखाद तथा मर्मतसम्भारको कामसमेत हुँदै आएको छ।

सभापति वैद्यले महाधिवेशनका क्रममा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिलाई पार्टीले आफ्नो जिम्मेवारीका रूपमा लिएको बताए। कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा प्रयोगका लागि लिइएको थियो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गराए।

वर्षाका कारण अपेक्षा गरेभन्दा बढी क्षति पुगेको उल्लेख गर्दै वैद्यले दुई दिनको भारी वर्षा र ठूलो संख्यामा मानिसको आवतजावतले दुबो बिग्रिएको बताए। त्यसलाई पुनःस्थापना गर्नु पार्टीको दायित्व भएको उनको भनाइ छ।

खुलामञ्च कुनै एक राजनीतिक दल वा सरकारी निकायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने पनि उनले बताए। सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक दलहरूको नैतिक दायित्वसमेत भएको उनको धारणा छ।

दुबो रोप्ने कार्यक्रममा कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतम, केन्द्रीय सदस्यहरू जनक चट्टौत, लेखनाथ पोखरेल, सीता मिजारलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

महाधिवेशनका कारण क्षति पुगेको खुलामञ्चलाई पुनः हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यसहित कांग्रेसले मर्मत तथा संरक्षणका कामलाई निरन्तरता दिएको जनाएको छ।