काठमाडौं । आगामी निर्वाचनको तयारीलाई अघि बढाएको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ।

आयोगले आगामी मङ्सिर ४ गते राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी गरेको हो। आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले उक्त मितिमा छलफलका लागि दलहरूलाई पत्राचार गरिएको पुष्टि गरेका छन्।

ad

सरकारले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला निर्वाचनको स्वरूप र व्यवस्थापनका विषयमा बहस सुरु भएको छ। विशेषगरी स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै समयमा सम्पन्न गर्ने भन्ने विषय अहिले चर्चामा छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले मङ्सिर ४ गतेका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाएको जानकारी दिएका छन्।

छठ पूजाका लागि आइतबार सर्लाही पुगेका थापाले स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगले निर्वाचनसम्बन्धी विषयमा दलहरूसँग परामर्श गर्न लागेको बताएका हुन्।

आयोगले बोलाएको छलफलमा निर्वाचनको तयारी, कार्यतालिका तथा स्थानीय र प्रदेश तहको निर्वाचन सञ्चालनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।