काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दोस्रो पुस्ताका युवा नेताहरू चारदिने तराई–मधेस यात्रामा निस्कने भएका छन्। पार्टीका प्रमुख सचेतक खुस्बु ओलीको नेतृत्वमा युवा नेताहरूको टोली मधेसका आठ जिल्लामा पुग्ने तयारीमा छ।

अध्यक्ष राजेन्द्र लिङ्देननिकट युवा नेताहरू सहभागी हुने उक्त टोलीले मधेसका विभिन्न जिल्लामा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने पार्टीले जनाएको छ।

ad

पार्टीका अनुसार यात्राको मुख्य उद्देश्य यसअघि राप्रपाका वरिष्ठ नेताहरूले गरेको मधेस भ्रमणपछि उत्पन्न भएका भ्रमहरू स्पष्ट पार्नुका साथै पार्टीको नीति, विचार र सिद्धान्तबारे स्थानीय तहमा जानकारी गराउनु हो। साथै राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र औचित्यबारे पनि छलफल गरिने नेताहरूले बताएका छन्।

मधेस यात्रामा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका उद्धवराज भेटुवाल, धनकुटाबाट उम्मेदवार बनेका विभत्सु थापा, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, सहायक प्रवक्ता पूर्ण चन्द तथा किसान संगठनका प्रेम फुयाललगायत नेताहरू सहभागी हुनेछन्।

निर्धारित कार्यक्रमअनुसार टोलीले मंसिर १ गते सप्तरी र सिराहा, मंसिर २ गते धनुषा र महोत्तरी तथा मंसिर ३ गते सर्लाही र रौतहटमा कार्यक्रम गर्नेछ।

त्यसैगरी यात्राको अन्तिम दिन मंसिर ४ गते बारा र पर्सामा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।

चारदिने यस अभियानमार्फत मधेसमा पार्टीको नीति र राजनीतिक दृष्टिकोणबारे संवाद विस्तार गर्ने र स्थानीय संगठनसँगको सम्बन्धलाई थप सक्रिय बनाउने राप्रपाका युवा नेताहरूको तयारी छ।