काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा विज्ञ तथा सहायक विज्ञका रूपमा नियुक्त गरेका व्यक्तिहरूको पद र जिम्मेवारी परिवर्तन गरेका छन्। उनीहरूलाई विज्ञको भूमिकाबाट हटाएर विभिन्न क्षेत्रका संयोजक तथा उपसंयोजकको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीको स्वकीय सहसचिव (विकास परियोजना) का रूपमा जिम्मेवारी पाएका इन्जिनियर सञ्जिब पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ। यसअघि प्रेस तथा अनुसन्धान विज्ञको जिम्मेवारीमा रहेकी दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ।

ad

त्यसैगरी सामाजिक विकास विज्ञका रूपमा नियुक्त विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक बनाइएको छ। कार्यक्रम तथा भ्रमण संयोजकको जिम्मेवारीमा रहेका सन्तोष गिरीलाई भने अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ।

प्रधानमन्त्री शाहले यसअघि स्वकीय उपसचिवका रूपमा नियुक्त गरेका व्यक्तिहरूको जिम्मेवारी पनि परिवर्तन गरेका छन्। उनीहरूलाई विभिन्न क्षेत्रका उपसंयोजकको भूमिका दिइएको छ।

स्वकीय उपसचिव प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजक बनाइएको छ भने नागरिक उड्डयन सहायक विज्ञका रूपमा रहेका सुमन गौतमलाई नागरिक उड्डयन समन्वय उपसंयोजकको जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रधानमन्त्रीको भाषा तथा मस्यौदासम्बन्धी सहायक विज्ञका रूपमा नियुक्त रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय उपसंयोजक बनाइएको छ।

प्रधानमन्त्री सचिवालयमा विज्ञका रूपमा नियुक्त व्यक्तिहरूको विषयगत विज्ञता र उनीहरूको भूमिकालाई लिएर विभिन्न मन्त्रालयमा हुने छलफलमा प्रश्न उठ्न थालेपछि जिम्मेवारी हेरफेर गरिएको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार विज्ञका रूपमा नियुक्त व्यक्तिहरूको विज्ञतामाथि प्रश्न उठेपछि उनीहरूलाई समन्वयको जिम्मेवारीमा राखिएको हो। स्रोतले उनीहरूको काममा ठूलो परिवर्तन नभए पनि पदअनुसारको भूमिका मिलाउन जिम्मेवारी फेरिएको जनाएको छ।

यद्यपि प्रधानमन्त्रीका सल्लाहकारका रूपमा नियुक्त भएका व्यक्तिहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।