जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफ्नो सरकारको निरन्तरता सुनिश्चित गर्न विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवका अनुसार कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिएको छ। त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्।

ad

विश्वासको मत प्राप्त गर्न आवश्यक समर्थन जुटाउने उद्देश्यले विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको मुख्यमन्त्री यादवले बताए। विश्वासको मत लिने समयसम्म पनि दलहरूसँग संवाद र सहमतिको प्रयास जारी रहने उनको भनाइ छ।

नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेले गत असोज २५ गते आफ्ना चार मन्त्रीलाई सामूहिक राजीनामा गराउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि सरकारमा रहेको नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सत्ता साझेदार दलले साथ छाडेपछि मुख्यमन्त्री यादवमाथि सरकार जोगाउने चुनौती थपिएको छ। त्यससँगै उनले प्रदेशसभामा आवश्यक बहुमत जुटाउन राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन्।

विश्वासको मतका लागि मुख्यमन्त्री यादवले कुन दलको समर्थन जुटाउँछन् भन्ने विषयले मधेश प्रदेशको आगामी राजनीतिक समीकरण निर्धारण गर्ने देखिएको छ