
काठमाडौं । तिहारमा देउसी–भैलो खेल्न अब समयको बन्देज नहुने भएको छ। गृह मन्त्रालयले देउसी–भैलो कार्यक्रम दिनरात जुनसुकै समयमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सातबुँदे निर्देशन जारी गरी सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठाएको हो। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भावसहित तिहार मनाउने वातावरण बनाउन मन्त्रालयले प्रशासनलाई आग्रह गरेको छ।
निर्देशनअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ। कार्यक्रममा सहभागी व्यक्ति वा समूहले कसैलाई पनि चन्दा, दक्षिणा वा आर्थिक सहयोग दिन दबाब दिन पाउने छैनन्।
मन्त्रालयले चाडपर्वका नाममा हुने विकृति नियन्त्रण गर्न पनि प्रशासनलाई सचेत गराएको छ। तिहारमा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने गतिविधि रोक्न निर्देशन दिइएको छ।
त्यस्तै, देउसी–भैलोका क्रममा अश्लील गीत तथा नृत्य प्रस्तुत गर्न र विभिन्न जातजाति तथा समुदायबीच द्वेष फैलाउने गतिविधि गर्न नदिन भनिएको छ।
अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ठूलो आवाजमा माइक तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ। यसले बिरामी, ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील अवस्थाका व्यक्तिलाई असर पर्न नदिनुपर्ने मन्त्रालयको निर्देशन छ।
सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, वातावरणीय स्वच्छता र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्दै देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई जिम्मेवार बनाएको छ।
तिहारको सांस्कृतिक महत्त्व र परम्परालाई निरन्तरता दिँदै नागरिकले हर्षोल्लासपूर्वक पर्व मनाउन पाउने वातावरण निर्माण गर्नु निर्देशनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।








Facebook Comments