
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकारको कार्यशैली, निर्णय प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाएका छन्। सरकार गठन भएको ६ महिना नपुग्दै यसको कामकारबाहीप्रति असन्तुष्टि बढ्न थालेको उनको दाबी छ।
सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट निर्देशित भएर सञ्चालन भइरहेको आरोप लगाए।
उनका अनुसार सरकार र सरोकारवाला पक्षबीच आवश्यक संवाद तथा समन्वय हुन नसक्दा निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बनेको छ। कार्यकारी तहबाट नियमित संवाद नहुँदा सरकारको नाम प्रयोग गरेर बिचौलियाहरूले आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाइरहेको उनको भनाइ छ।
आचार्यले सरकारका निर्णय र गतिविधिबारे उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिए। विशेषगरी दानबहादुर कार्कीलाई पदबाट हटाइएको घटनाबारे सरकारले आफ्नो निर्णयको आधार सार्वजनिक गर्नुपर्ने उनले बताए।
प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले सहकार्यका लागि सरकारले नै अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाए।
सरकारले संसद्लाई पर्याप्त महत्व नदिई अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै आचार्यले विधायिकाको भूमिकालाई कमजोर पार्ने गतिविधि उचित नहुने धारणा राखे।
उनले सरकारलाई निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न, सरोकारवालासँग संवाद बढाउन र आफ्नो कामकारबाहीप्रति जवाफदेही बन्न आग्रह गरे।
सरकार सञ्चालनमा राजनीतिक प्रतिशोधभन्दा संस्थागत प्रक्रिया, संवाद र संसदीय अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।








Facebook Comments