
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधिले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको प्रतिष्ठामा असर पुर्याएको बताएका छन्।
तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले झुट, हिंसा र विध्वंसलाई प्रोत्साहन गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
उनले यस्ता गतिविधिका कारण नेपाली समाज र नेपाली जातिको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको दाबी गरे। देशको प्रतिष्ठा जोगाउन शान्ति, सद्भाव र सुव्यवस्था कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
ओलीले समाजमा घृणा र द्वेष फैलाउनेभन्दा आपसी सद्भाव र शान्तिको संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। भगवान् बुद्धका शान्तिसम्बन्धी उपदेशलाई व्यवहारमा उतार्दै हिंसारहित समाज निर्माण गर्नुपर्ने उनले बताए।
उनका अनुसार मानिसको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सांस्कृतिक तथा शैक्षिक अभियान प्रभावकारी हुन सक्छन्। समाजमा विभाजन र वैमनस्य बढाउने गतिविधिको विकल्पका रूपमा शिक्षा, संस्कृति र सकारात्मक सामाजिक अभ्यासलाई अघि बढाउनुपर्ने उनको धारणा थियो।
नेपाली समाज परिश्रमी र सिर्जनशील रहेको उल्लेख गर्दै ओलीले नेपालको मौलिक कला, संस्कृति र परम्पराले नागरिकको मनोभाव तथा आचरणलाई सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रिय पहिचान र सामाजिक एकता संरक्षण गर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिए।








Facebook Comments