काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक र वैज्ञानिक महत्त्व बोकेको तिहारलाई उज्यालो तथा प्रकाशको पर्वका रूपमा व्याख्या गरेका छन्।

ad

उनले विविध जातजाति, भाषाभाषी र संस्कृतिबीच एकताको सम्बन्ध स्थापित गर्न तिहारले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेपालको मौलिक संस्कृति र परम्परा संरक्षण गर्ने महत्वपूर्ण आधारका रूपमा समेत यस पर्वलाई लिइएको उनको सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलका अनुसार तिहारमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिले प्रेम, स्नेह, सामाजिक एकता, दया, करुणा र अन्धकारमाथि प्रकाशको विजयको सन्देश प्रवाह गर्छन्।

काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धन पर्वतको पूजा र सम्मान गर्ने परम्पराले मानव, प्रकृति र जीवजन्तुबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उनले बताएका छन्। लक्ष्मीपूजा, म्हपूजा र भाइटीकाजस्ता सांस्कृतिक अभ्यासले धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सामाजिक एकतालाई थप प्रगाढ बनाउने उनको भनाइ छ।

तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच टीका लगाउने, मिठा परिकार खाने, घरमा दीप प्रज्वलन गर्ने तथा देउसी–भैलो खेल्ने परम्पराले नेपाली समाजको आपसी आत्मीयता र सांस्कृतिक पहिचानलाई जीवन्त राखेको सन्देशमा उल्लेख छ।

राष्ट्रपतिले तिहारका अवसरमा गरिने यस्ता सांस्कृतिक अभ्यासले मानिसलाई सत्य, न्याय र सामाजिक सुशासनको बाटोमा अघि बढ्न प्रेरणा दिनुपर्ने बताएका छन्।

तिहारले सम्पूर्ण नेपालीबीच भ्रातृत्व, सहिष्णुता, सामाजिक सद्भाव र समृद्धिको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना दिएका छन्।