झापा । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको आन्तरिक मतभेद अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउन सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

झापा पुगेका डा. शर्माले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने प्रमुख जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वमा रहेको स्पष्ट पारे। उनले आपसी असमझदारी र विवादलाई बढावा दिनुभन्दा संवाद, सहकार्य र सहमतिका माध्यमबाट समाधान खोज्न नेतृत्वलाई आग्रह गरे।

ad

‘पार्टी मिलाउने जिम्मेवारी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको हो,’ उनले भने।

डा. शर्माका अनुसार राजनीतिक दलभित्र विचार र दृष्टिकोणमा विविधता हुनु स्वाभाविक भए पनि त्यसलाई विवाद र विभाजनको आधार बनाउनु उचित हुँदैन। पार्टीको संगठनात्मक शक्ति जोगाउन व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहभन्दा संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर लामो समयदेखि देखिएको विवादले पार्टीको आन्तरिक एकतामाथि प्रश्न उठाएको थियो। नेतृत्व चयन, महाधिवेशनको वैधानिकता र पार्टी सञ्चालनका विषयमा फरक मत देखिँदा कांग्रेस विभाजन हुन सक्ने चिन्तासमेत व्यक्त हुँदै आएको थियो।

यस्तो परिस्थितिमा नयाँ नेतृत्वले असन्तुष्ट पक्षका नेता तथा कार्यकर्तालाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने डा. शर्माको धारणा छ। पार्टीको नेतृत्व परिवर्तनसँगै उत्पन्न राजनीतिक तथा सांगठनिक चुनौती समाधान गर्ने दायित्व पनि नेतृत्वकै भएको उनले संकेत गरेका छन्।

यसअघि पनि डा. शर्माले कांग्रेस विभाजन हुनु कसैको हितमा नहुने बताउँदै दुवै पक्षका नेताहरूलाई लचकता अपनाउन आग्रह गर्दै आएका थिए।

उनको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको एकता कायम राख्न सभापति थापा र वरिष्ठ उपसभापति शर्मामाथि विशेष जिम्मेवारी रहेको सन्देश दिएको छ। आन्तरिक विवादलाई थाती राखेर संगठन सुदृढीकरण, आपसी विश्वास र सामूहिक नेतृत्वका आधारमा अघि बढ्नुपर्नेमा उनको जोड देखिन्छ।