काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार, लक्ष्मीपूजा र छठ पर्वका बेला विद्युत् आपूर्ति नियमित तथा भरपर्दो बनाउन भइरहेका तयारीबारे जानकारी लिएका छन्।

आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले विद्युत् प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्।

ad

निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा विद्युत्को माग कति रहने, मागअनुसार आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ तथा विद्युत् सेवा अवरुद्ध हुन नदिन के-कस्ता तयारी गरिएको छ भन्ने विषयमा चासो राखेका थिए।

चाडपर्वका बेला विद्युत्को खपत बढ्ने भएकाले आपूर्ति प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउन भइरहेका कामबारे पनि उनले जानकारी लिएका थिए।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्व लक्षित विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका थिए।