
काठमाडौं । देशका चार जिल्लामा पछिल्लो २४ घण्टाभित्र भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ। कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा भएका दुर्घटनामा एक जना बसको ठक्करबाट, दुई जना मोटरसाइकल आपसमा ठोक्किँदा र पाँच जना अन्य सवारी दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। लु १ ख ९७२६ नम्बरको बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगरका ७७ वर्षीय लखन अहिरको ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटोमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सुपप्र ०१–००८ प ५८७७ र भे १० प ९९३६ नम्बरका मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरी र महेन्द्र रिजालको उपचारका क्रममा मृत्यु भएको हो।
चौधरीको जिल्ला अस्पताल बर्दियामा र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन्। कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी तीन जनाको मृत्यु नुवाकोटमा भएको मोटरसाइकल दुर्घटनामा भएको छ। विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ४७ वर्षीय बुद्धिमान तामाङ तथा पछाडि सवार ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङ विदुर नगरपालिका–९ का स्थानीय बासिन्दा हुन्। उनको स्थायी घर भने धादिङको खनियाबास गाउँपालिका–५ रहेको थियो।
चार जिल्लामा भएका यी दुर्घटनामा आठ जनाले ज्यान गुमाए पनि दुर्घटनाको कारणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।









Facebook Comments