काठमाडौं ।यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत् खपतले नयाँ उचाइ लिएको छ। आइतबार साँझ ६ः१५ बजे देशभर विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त समयमा मुलुकभर कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो। आन्तरिक खपतबाट बाँकी रहेको ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो।

ad

कुल उत्पादनमध्ये निजी क्षेत्रका आयोजनाबाट सबैभन्दा बढी १ हजार ५३६.५० मेगावाट विद्युत् आपूर्ति भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो।

लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिका लागि भारतबाट आयात गर्नुपर्ने अवस्था आएन। तापीय आयोजनाबाट पनि विद्युत् उत्पादन भएको थिएन। यसले आन्तरिक उत्पादनबाटै देशको माग धानिएको प्राधिकरणको विवरणले देखाएको छ।

यसैगरी, काठमाडौं उपत्यकामा विद्युत्को उच्चतम माग ४८९.५० मेगावाट पुगेको थियो। उक्त समयमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज कायम रहेको र प्रणालीमा कुनै अवरोध नआएको प्राधिकरणले जनाएको छ।

पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा लक्ष्मीपूजाका दिन विद्युत्को माग निरन्तर बढ्दै गएको देखिन्छ। गत वर्ष २०८२ कात्तिक ३ गते लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग १ हजार ७४५ मेगावाट थियो। त्यसबेला कुल उत्पादन २ हजार ७६० मेगावाट पुगेको थियो भने १ हजार १५ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। काठमाडौं उपत्यकाको माग ४०२.४९ मेगावाट थियो।

त्यसैगरी, २०८१ कात्तिक १५ गते लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ६०२.२० मेगावाट पुगेको थियो। उक्त वर्ष कुल उत्पादन १ हजार ८५५ मेगावाट र निर्यात २५२.९० मेगावाट रहेको थियो। काठमाडौं उपत्यकामा भने ३८०.५० मेगावाट विद्युत् खपत भएको थियो।

तथ्यांकअनुसार यस वर्ष गत वर्षको तुलनामा राष्ट्रिय विद्युत् माग ६८ मेगावाटले बढेको छ। त्यस्तै, काठमाडौं उपत्यकाको माग पनि उल्लेख्य रूपमा वृद्धि भएको छ।