काठमाडौं । नेपालमा विभिन्न कारणले बसोबास गरिरहेका १७५ जना विदेशी नागरिक तीन महिनाको अवधिमा निष्कासनमा परेका छन्। गृह मन्त्रालयको पछिल्लो त्रैमासिक प्रगति विवरणअनुसार गत साउनदेखि असोजसम्म उक्त संख्यामा विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको हो।

मन्त्रालयको तथ्यांकअनुसार साउनमा ५२ जना विदेशी नागरिक निष्कासनमा परेका थिए। यस्तै, भदौमा ५९ जना र असोजमा ६४ जनालाई निष्कासन गरिएको छ।

ad

तीन महिनाको तथ्यांक हेर्दा नेपालबाट निष्कासन हुने विदेशी नागरिकको संख्या महिनैपिच्छे बढेको देखिन्छ। तर, उनीहरूलाई कुन कसुर वा कारणका आधारमा निष्कासन गरिएको हो भन्नेबारे मन्त्रालयले सार्वजनिक गरेको विवरणमा खुलाइएको छैन।

गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन शाखाले गरेको कामको विवरणमा विदेशी नागरिक निष्कासनसम्बन्धी तथ्यांक समावेश गरिएको हो।

सरकारी निकायहरूले आफ्नो कामकारबाहीलाई पारदर्शी र जवाफदेही बनाउन प्रत्येक तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ अनुसार सार्वजनिक निकायले आफ्ना गतिविधिसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नुपर्छ।

ऐनको दफा ५ को उपदफा ३ मा सार्वजनिक निकायले आफ्नो स्थापना र विकासको अवस्थालाई समेत ध्यानमा राखी कम्तीमा प्रत्येक तीन महिनामा सूचना अद्यावधिक गरेर प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सोही कानुनी प्रावधानअनुसार गृह मन्त्रालयले पछिल्लो तीन महिनामा सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको हो।