
काठमाडौं । तिहार र छठ पर्वका सार्वजनिक बिदामा समेत राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय सञ्चालनमा रहने भएका छन्। मानव अधिकार उल्लंघनका घटनाको उजुरी तत्काल प्राप्त गर्न र आकस्मिक घटनाको अनुगमनलाई निरन्तरता दिन आयोगले बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय गरेको हो।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र प्रदेशअन्तर्गतका शाखा कार्यालयहरू पर्व बिदामा पनि सञ्चालन हुनेछन्।
आयोगले जारी गरेको प्रेस नोटअनुसार बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुला रहने व्यवस्था मिलाइएको छ। यस अवधिमा मानव अधिकार उल्लंघनसम्बन्धी उजुरी दिन तथा आकस्मिक प्रकृतिका घटनाबारे जानकारी गराउन सकिनेछ।
त्यसैगरी, आपत्कालीन प्रयोजनका लागि आयोगका कार्यालय तथा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।
आयोगको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा रहेको छ। प्रदेशस्तरमा कोशीको विराटनगर, मधेशको जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कार्यालय सञ्चालनमा छन्।
त्यस्तै, कोशी प्रदेशको खोटाङ, लुम्बिनी प्रदेशको नेपालगञ्ज र कर्णाली प्रदेशको जुम्लामा आयोगका शाखा कार्यालय रहेका छन्।
चाडपर्वका समयमा पनि मानव अधिकार संरक्षण तथा उल्लंघनका घटनामा तत्काल प्रतिक्रिया दिन सकियोस् भन्ने उद्देश्यले बिदाका दिनमा कार्यालय सञ्चालनको व्यवस्था गरिएको आयोगले जनाएको छ।









Facebook Comments