
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार रोशन खड्काबीच सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर उत्पन्न विवाद सहमतिमा टुंगिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएपछि शिवाकोटी आइतबार दिउँसो कार्यालय पुगेका थिए। त्यहाँ उजुरीकर्ता पत्रकार खड्कासँग छलफलपछि दुवै पक्षबीच सहमति भएको हो।
सामाजिक सञ्जालमा लेखिएका विषयलाई लिएर खड्काले शिवाकोटीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए। त्यसपछि शिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका थिए।
विवाद समाधानका लागि ब्युरोले दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गराएको थियो। छलफलका क्रममा अबदेखि सामाजिक सञ्जालमा अप्रमाणित विषयवस्तु सार्वजनिक नगर्ने सहमति भएपछि विवाद टुंगिएको बताइएको छ।
सहमति कार्यान्वयन नगरी पुनः यस्ता गतिविधि दोहोरिएमा साइबर ब्युरोले दुवै पक्षलाई आवश्यकताअनुसार बोलाउन सक्ने जनाइएको छ।
शिवाकोटी कार्यालय पुग्दा आफूसँग कानून व्यवसायीलाई पनि लैजान चाहेका थिए। तर प्रहरीले कानून व्यवसायीलाई प्रवेश अनुमति नदिई उजुरीका दुवै पक्षबीच प्रत्यक्ष छलफल गराएको थियो।
पछिल्लो समय शिवाकोटीले प्रतिपक्षी दलका नेताका रूपमा सरकारका कामकारबाहीमाथि सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै आएका थिए। सोही क्रममा पत्रकार खड्कासँग सम्बन्धित विषयमा पनि उनको टिप्पणी सार्वजनिक भएको थियो।
शिवाकोटीले सामाजिक सञ्जालमा खड्काले उठाएका विषयको विश्वसनीयतामाथि प्रश्न गर्दै प्रतिपक्षले उठाएका सवालको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने धारणा राखेका थिए।
यसअघि पनि साइबर ब्युरोले शिवाकोटीलाई सम्पर्क गर्न खोजेको थियो। उनी धार्मिक यात्राका लागि भारतमा रहेका बेला ब्युरोले खोजी गरेको खबर पाएपछि आफ्नो कार्यक्रम छोट्याएर गत बिहीबार काठमाडौं फर्किएको बताइएको थियो।
लक्ष्मीपूजाको दिन ब्युरोमा उपस्थित भएका शिवाकोटी र उजुरीकर्ता खड्काबीच सहमति भएपछि सामाजिक सञ्जालमा सुरु भएको विवादले तत्कालका लागि निकास पाएको छ।








Facebook Comments