
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्ने कुरा सम्भव नरहेको टिप्पणी गरेका छन्।
पत्रकारहरूसँग आज कुराकानी गर्दै प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मान्यताविपरीत अघि बढ्न खोजेको आरोपसमेत लगाए।
कांग्रेस सभापति थापा पक्राउ पर्न सक्ने चर्चा भइरहेको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका हुन्।
‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि। जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन,’ प्रचण्डले भने।
उनको यो अभिव्यक्ति गगन थापाको सम्भावित गिरफ्तारीबारे राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला आएको हो। यद्यपि, थापालाई पक्राउ गर्ने विषयमा सरकारको आधिकारिक निर्णय वा योजनाबारे प्रचण्डले कुनै थप विवरण दिएका छैनन्।
यसैबीच, सरकारले प्रहरी महानिरीक्षक पदबाट दानबहादुर कार्कीलाई हटाएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको प्रसङ्गमा पनि पत्रकारहरूले प्रश्न गरेका थिए।
तर, उक्त विषय अदालतको विचाराधीन प्रक्रियामा रहेकाले आफूले अहिले कुनै टिप्पणी नगर्ने प्रचण्डले बताएका छन्।









Facebook Comments