चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनपछि पार्टीका नेता तथा कार्यकर्तामा देखिन थालेको घमण्ड, महत्त्वाकाङ्क्षा र आपसी दूरीप्रति असन्तुष्टि जनाएका छन्। जनताबाट प्राप्त राजनीतिक शक्तिलाई दम्भ देखाउने वा राज्यका निकायमाथि दबाब सिर्जना गर्ने माध्यम नबनाउन उनले पार्टी पङ्क्तिलाई सचेत गराएका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले निर्वाचनमा सफलता हासिल गरेसँगै केही नेता तथा कार्यकर्तामा आफूहरू शक्तिशाली भएको भावना बढेको बताए। पार्टी ठूलो भएको र प्रहरी तथा प्रशासन आफ्नै नियन्त्रणमा रहेको जस्तो व्यवहार देखाउनु गलत हुने उनको भनाइ थियो।

ad

उनले जनताले दिएको मतलाई जनतामाथि नै प्रभाव जमाउने साधनका रूपमा प्रयोग नगर्न आग्रह गरे। राजनीतिक शक्तिसँगै जिम्मेवारी पनि बढ्ने भएकाले नेता तथा कार्यकर्ताका बोली र व्यवहारमा संयमता आवश्यक रहेको उनले उल्लेख गरे।

लामिछानेले पार्टीभित्र निर्वाचित सांसद र अन्य कार्यकर्ताबीच बढ्दै गएको मनोवैज्ञानिक दूरीलाई पनि चिन्ताको विषय बनाएका छन्। सांसद बनेपछि सँगै संघर्ष गरेका साथीहरूलाई बेवास्ता गर्ने र पदमा पुग्न नसकेकाहरूले निर्वाचित साथीप्रति ईर्ष्या राख्ने प्रवृत्ति दुवै गलत भएको उनले बताए।

सहकर्मीको प्रगतिलाई व्यक्तिगत उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो। आज एक जना सांसद बनेको अवस्थामा भोलि अर्को कार्यकर्ताले पनि अवसर पाउन सक्ने भन्दै उनले पार्टीभित्र एकता र सहकार्य कायम राख्न आग्रह गरे।

निर्वाचनको सफलतापछि पार्टीका नेता तथा कार्यकर्ता जनताबाट टाढिँदै गएको स्वीकार गर्दै लामिछानेले आत्मसमीक्षाको आवश्यकता औँल्याए। जनताले विश्वास गरेर जिम्मेवारी दिए पनि त्यसअनुसारको व्यवहार देखाउन नसकिएको उनको टिप्पणी थियो। उनले कुनै पनि अवस्थामा जनतालाई सामान्य सम्मान दिनसमेत नचुक्नुपर्नेमा जोड दिए।

यसैगरी, विगतमा घण्टी चुनाव चिह्न बोकेर हिँड्दा पार्टीका समर्थकले राज्य प्रशासनबाट समस्या भोगेको भन्दै अहिले प्रहरी तथा प्रशासनमाथि राजनीतिक दबाब सिर्जना गर्न नहुने उनले स्पष्ट पारे। विगतको व्यवहारको बदला लिने उद्देश्यले राज्यका निकाय प्रयोग गर्न खोजिए पार्टीको राजनीतिक पहिचानमै असर पर्ने उनको भनाइ थियो।

लामिछानेले रास्वपाले एउटा निर्वाचन जितेको मात्र उल्लेख गर्दै आफूहरूलाई अरूभन्दा फरक वा विशेष ठान्ने प्रवृत्तिबाट टाढा रहन पनि आग्रह गरे।

पार्टीको उदयलाई विभिन्न विश्लेषक तथा सञ्चारमाध्यमले ‘हुरी’ वा ‘आँधी’का रूपमा व्याख्या गर्ने गरेको प्रसङ्गमा उनले बाहिरबाट आएका टिप्पणीप्रति आक्रोशित हुनुभन्दा आफ्नै व्यवहार सुधार्नुपर्ने बताए। समाजले देखाएको कमजोरी स्वीकार गर्नुपर्ने भन्दै उनले त्यसको जिम्मेवारी पार्टीका नेतृत्वदेखि तल्लो तहसम्मले लिनुपर्ने धारणा राखे।

रास्वपाको छोटो समयमै भएको राजनीतिक विस्तारलाई लामिछानेले सीधै आठ कक्षामा भर्ना भएको अवस्थासँग तुलना गरे। पार्टीले पर्याप्त राजनीतिक प्रशिक्षण र अनुभव हासिल गर्न नपाउँदै ठूलो जिम्मेवारी प्राप्त गरेको उनको स्वीकारोक्ति थियो।

उनका अनुसार आठ कक्षामा पुगे पनि त्यसअघिका कक्षामा सिक्नुपर्ने विषय छुटेका छन्। ती विषयको अध्ययन र राजनीतिक प्रशिक्षणबिना थप जिम्मेवारी सम्हाल्न कठिन हुने भएकाले पार्टीले आफ्ना कमजोरी पहिचान गर्दै सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए।

राजनीतिलाई एउटा निर्वाचन जितेर अर्को निर्वाचनको तयारी गर्ने प्रक्रियामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको अपेक्षाअनुसार आचरण र कार्यशैली सुधार्न निर्देशन दिएका छन्।