काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका बस्तीको अवस्था बुझ्न स्थलगत भ्रमण गर्ने भएको छ। पार्टीले छठ पर्वपछि प्रभावित क्षेत्रमै पुगेर स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने निर्णय गरेको हो।

सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको पार्टी बैठकले तीनवटै जिल्लाका बाढी प्रभावित गाउँबस्तीको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय गरेको हो।

ad

बैठकमा बाढीपहिरोबाट क्षति पुगेका क्षेत्रको पछिल्लो अवस्था, विस्थापित तथा प्रभावित परिवारको पुनःस्थापना, सार्वजनिक सेवा सञ्चालन र पुनर्निर्माणको प्रगतिबारे समीक्षा गरिएको कांग्रेसले जनाएको छ।

प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले कांग्रेसले दुईवटा विशेष अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले प्रभावित परिवारलाई लक्षित गरी ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ अघि बढाउने टुंगो लगाएको हो।

प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकको पुनःस्थापना र जनजीवन सामान्य बनाउन पार्टीले आवश्यक पहल गर्ने कांग्रेसको भनाइ छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई तीव्रता दिन र नागरिकले पाउनुपर्ने सेवा सुविधा सुनिश्चित गर्न सरकारलाई निरन्तर खबरदारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

स्थलगत भ्रमणमार्फत प्रभावित नागरिकका वास्तविक समस्या पहिचान गरी उनीहरूको आवश्यकता र पुनःस्थापनाका विषयमा थप पहल गर्ने कांग्रेसको तयारी छ।