काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको जनाएको छ।

ad

समितिमा चिकित्सा शिक्षा आयोगका सदस्य सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र मन्त्रालयको प्राविधिक शाखाका उपसचिव सदस्य रहेका छन्।

चिकित्सा शिक्षामा सुधार तथा विभिन्न निर्णय खारेजीको मागसहित अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको थियो। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।

केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निर्धारण गरिएको सिट खारेज गर्नुपर्ने माग गरेका छन्। आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय पनि खारेज गर्नुपर्ने उनको माग छ।

त्यसैगरी, निर्धारित मापदण्डविपरीत विभिन्न मेडिकल कलेजमा विद्यार्थी भर्ना सिट वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने मागसमेत केसीले अघि सारेका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै आएका केसीको यो २५औँ अनशन हो। सरकारले वार्ता समिति गठन गरेसँगै उनका माग सम्बोधन गर्ने विषयमा संवाद अघि बढ्ने अपेक्षा गरिएको छ।