काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालले अस्पताललाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले ‘जनताको आवाज, पारदर्शिता र उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावसहित अस्पतालको सेवा प्रवाह, पूर्वाधार निर्माण तथा आगामी योजनाबारे नागरिकका गुनासा, सुझाव र जिज्ञासा प्रत्यक्षरूपमा सुन्न आज सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा अस्पतालमा निर्माणाधीन मोड्युलर अपरेसन थिएटर (ओटी), १०० शैयाको  जनरल अस्पताल सञ्चालनका लागि भइरहेका प्रयास तथा अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवाको प्रभावकारितालगायतका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गरिएको अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले जानकारी दिए ।

ad

सार्वजनिक सुनुवाइमार्फत अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या, नागरिकले भोग्नुपरेका कठिनाइ, स्वास्थ्य सेवाको गुणस्तर, पूर्वाधार विकास तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव संकलन गरिएको निर्देशक पौडेलले बताए । 

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञ, बुद्धिजीवी, नगरवासी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा अस्पतालसँग सरोकार राख्ने विभिन्न पक्षको सहभागिता रहेको थियो । 


कागेश्वरी मनोहरा नगर अस्पतालले अस्पतालको सेवा विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएको छ ।  हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ।