
काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयकमा सुत्केरीलाई कम्तीमा ६ महिना तलबसहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
कानुन मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएकी छन्।
मन्त्री गौतमले फेसबुकमा लेखेकी छिन्, बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको छ बच्चा जन्माउन युवाहरुको आकर्षण घटेपछि नेपालको जनसंख्या वृद्धिदरमा समेत कमी आएको छ। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो । यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ।
सरकारले विधेयक ल्याउने तयारी गरिरहँदा प्रतिनिधि सभामा सुरक्षित मातृत्वसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता भएको छ। सीता थपलियाले राखेको उक्त प्रस्तावमा ९८ दिनको विद्यमान मातृत्व बिदा अपर्याप्त भएको उल्लेख गर्दै सुरक्षित मातृत्वका लागि थप व्यवस्था गर्नुपर्ने विषय उठाइएको छ।









Facebook Comments