इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। अनशनको तेस्रो दिन पुग्दा रगतमा चिनीको मात्रा घटेको र बोल्नसमेत कठिन हुन थालेको उनले बताएका छन्।

इलाम बजारनजिकै नारायणस्थान मन्दिरको धर्मशालामा गत कात्तिक ११ गतेदेखि सत्याग्रह सुरु गरेका केसी पानी मात्र पिएर अनशनमा छन्। अनशन लम्बिँदै जाँदा शारीरिक रूपमा शिथिल महसुस हुन थालेको उनको भनाइ छ।

ad

‘सुगर घटेको रहेछ, अब बोल्न पनि गाह्रो हुन थाल्यो,’ केसीले बताएका छन्।

उनको स्वास्थ्य परीक्षणका लागि अघिल्लो साँझ इलाम अस्पतालको टोली पुगेको थियो। तर त्यसपछि स्वास्थ्य परीक्षण हुन नसकेको बताइएको छ।

इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले केसीको समूहबाट पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त नभएको बताएका छन्। अस्पतालले भने आवश्यक परेको अवस्थामा तत्काल स्वास्थ्य परीक्षण र उपचारका लागि चार सदस्यीय टोली तयारी अवस्थामा राखेको जनाएको छ।

यसैबीच, केसीको सत्याग्रहप्रति सरकारले अपेक्षित चासो नदेखाएको बताइएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार तथा नीतिगत सुशासन कायम गर्नुपर्ने मागसहित उनले सरकारसमक्ष छबुँदे माग अघि सारेका छन्।

उनका प्रमुख मागमध्ये गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन र सिट वृद्धिसम्बन्धी विवादित निर्णय खारेज गर्नुपर्ने विषय रहेको छ। त्यस्तै, स्वार्थ बाझिने अवस्था सिर्जना हुने गरी गरिएको उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने उनको माग छ।

चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत विचलन बढेको, निर्णय प्रक्रियामा पारदर्शिता र सुशासन कमजोर भएको भन्दै केसीले सुधारका लागि दबाब दिन सत्याग्रह सुरु गरेका हुन्।

अनशनको तेस्रो दिनमै स्वास्थ्यमा कमजोरी देखिन थालेपछि उनको स्वास्थ्य सुरक्षाबारे चासो बढेको छ। एकातिर स्वास्थ्य अवस्था बिग्रँदै गएको छ भने अर्कोतिर उनका माग सम्बोधन गर्न सरकारबाट ठोस पहल भएको विवरण सार्वजनिक भएको छैन।

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल हुनुअघि नै सरकारले उनका मागबारे वार्ता र समाधानको पहल गर्छ कि गर्दैन भन्ने प्रश्न अहिले मुख्य चासोको विषय बनेको छ।

डा. केसीका ६ बुँँदे मागहरू 

विवादित निर्णय खारेज : न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गरियोस् ।

२. निष्पक्ष छानबिन र कारबाही : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी निजहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस् । छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गरियोस ।

३. गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गरियोस्। आवश्यक पूर्वाधार, जनशक्ति र सबै कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरियोस । विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानसमेत परिमार्जन गरियोस ।

४. छात्रवृत्ति र गुणस्तरको रक्षा : सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गरियोस् । निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्डविनै सिट वृद्धि गर्ने प्रयास रोकियोस् ।

५. सरकारसँग भएका सहमति कार्यान्वयन : २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरियोस्। सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट, तोडफोडलगायत विध्वंसात्मक घटनाको छानबिन तथा दोषीमाथि कारबाहीसम्बन्धी विषयसमेत कार्यान्वयन गरियोस् ।

६. सरकारी मेडिकल कलेज विस्तार : इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गरियोस्। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाइयोस् ।

चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो । यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन ।

अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजे देखि सत्याग्रह शुरू गरेको घोषणा गर्दछु । यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ ।