काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाका लागि उत्तम साइत सार्वजनिक गरेको छ। समितिले यस वर्ष भाइटीका लगाउने शुभ समय कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो।

समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। यमपञ्चकअन्तर्गत तिहारका विभिन्न पर्वहरू क्रमशः मनाइनेछन्।

ad

निर्धारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ। त्यसपछि कात्तिक २१ गते शनिबार काग तिहारसँगै धन्वन्तरि जयन्ती मनाइनेछ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिने समितिले जनाएको छ।

यसैगरी कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। यही दिनदेखि नयाँ नेपाल संवत् ११४७ पनि सुरु हुनेछ।

तिहारको अन्तिम तथा महत्त्वपूर्ण पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार मनाइनेछ। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने यस पर्वको उत्तम साइत बिहान ११:०७ बजे रहेको समितिले जनाएको छ।