काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन् । उजुरी दिने समयसीमा अझै बाँकी रहेकाले उजुरीको संख्या थप बढ्न सक्ने देखिएको छ ।

संसदीय सुनुवाइ समितिले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले उजुरी दिन १० दिनको समय निर्धारण गरेको छ । उक्त समयसीमा कात्तिक १९ गतेसम्म कायम रहनेछ ।

ad

समितिमा अहिलेसम्म आठवटा उजुरी दर्ता भएको छ । बाँकी अवधिमा थप उजुरी प्राप्त हुन सक्ने समितिको अपेक्षा छ ।

न्याय परिषद्ले गत असोज २० गते उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस हुनेमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

अब उजुरी दर्ताको प्रक्रिया सकिएपछि संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीमाथि अध्ययन तथा आवश्यक छानबिन गरी प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने प्रक्रिया अघि बढाउनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।