
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर उपचाररत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
अस्पतालले सूचना जारी गर्दै भदौ १० गते आएको बाढीबाट प्रभावित भई उपचारका लागि आउने बिरामीलाई अस्पतालमा उपलब्ध निःशुल्क उपचार सेवा अन्तर्गत बेड चार्ज, प्रयोगशाला परीक्षण शुल्क तथा अक्सिजन शुल्क नलिने जनाएको हो । यसैगरी आवश्यक औषधिसमेत उपलब्ध भएसम्म निःशुल्क उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै कुल बेडमध्ये १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । सोही व्यवस्थाअन्तर्गत बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका क्यान्सर उपचाररत बिरामीलाई पनि सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
विपन्न, असहाय तथा बेसहारा बिरामीले नेपाल सरकारले प्रदान गर्ने क्यान्सर उपचारसम्बन्धी विभिन्न सुविधासमेत लिन सक्ने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा, प्रदेश सरकारबाट उपलब्ध हुने सुविधा तथा विपन्न नागरिकका लागि सरकारले प्रदान गर्ने क्यान्सर उपचार सेवामा समेत आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ ।
कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भने ‘विपद्का कारण क्यान्सर उपचारमा रहेका बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित बिरामीलाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका हौँ । उपचारका क्रममा लाग्ने बेड चार्ज, ल्याब परीक्षण तथा अक्सिजन शुल्क नलिने व्यवस्था गरिएको छ भने अस्पतालमा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत उपलब्ध गराउनेछौँ । विपद्को समयमा बिरामीको उपचार निरन्तरता नै सबैभन्दा महत्वपूर्ण भएकाले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट रोकिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’
उक्त सुविधा लिन चाहने बिरामी तथा आफन्तले अस्पतालको सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ । बाढी तथा विपद्का कारण उपचारमा समस्या भोगिरहेका क्यान्सर बिरामीलाई उपचारबाट वञ्चित हुन नदिन अस्पतालले यस्तो व्यवस्था गरेको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, परामर्शदाता प्रमोद राज ढकाल, नर्सिङ प्रमुख लक्ष्मी केशरी श्रेष्ठ, सामाजिक सेवा इकाई प्रमुख बाल केसरी कोजू र सूचना अधिकृत राजमति गोसाईसँग आवश्यक जानकारी तथा सेवाका लागि सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।










Facebook Comments