
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग सम्बन्ध र सम्पर्कको विवादमा तानिएका न्यायाधीशहरूमाथि महाभियोग प्रक्रिया अघि बढाउन पार्टीमाथि दबाब बढिरहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चौलागाईंले न्यायाधीशहरूको बिचौलियासँगको उठबसबारे सार्वजनिक भएका विषयले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको बताए।
उनका अनुसार विवादको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र महाभियोग सिफारिस समिति सक्रिय बनाउनुपर्ने मागसमेत उठिरहेको छ।
‘अहिले जुन विवाद आएको छ, यो बिचौलियाको विषयमा माननीय न्यायाधीशहरूको उठबसको कुरा। यो उठबसको कुरामा हामीलाई अहिले चर्को दबाब के छ भने तत्काल संसदीय समिति गठन गर्नुपर्छ,’ चौलागाईंले भने, ‘महाभियोग सिफारिस समिति गठन गर्नुपर्छ भन्ने दबाब छ।’
विवादास्पद बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क र सन्देश आदानप्रदान भएको विषय सार्वजनिक भएपछि यसले राजनीतिक तथा न्यायिक वृत्तमा चर्चा पाएको छ।
सापकोटाको मोबाइल तथा अन्य विद्युतीय उपकरणबाट प्रधानन्यायाधीश, विभिन्न न्यायाधीश र प्रहरीका उच्च अधिकारीहरूसँग भएको संवाद तथा कारोबारसम्बन्धी विवरण सार्वजनिक भएको दाबी गरिएको छ। त्यस्तै, सात जना न्यायाधीशले सापकोटासँग सामूहिक भेट गरेको विषयसमेत चर्चामा आएको छ।
यी विवरण सार्वजनिक भएपछि न्यायाधीशहरूको आचरण, न्यायिक निष्पक्षता र सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठ्न थालेको छ।
सांसद चौलागाईंले पनि यही विषयलाई लिएर न्यायपालिकाको निष्पक्षता र न्यायिक आचरणबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए।
यसअघि रास्वपाका सांसद राजीव खत्री र यज्ञमणि न्यौपानेले पनि सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि उठेका प्रश्न संसद्मा प्रवेश गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
न्यायाधीशमाथि महाभियोग लगाउने विषय संवैधानिक प्रक्रिया र पर्याप्त आधारसँग जोडिने भएकाले यसबारे संसद्मा कस्तो कदम चालिन्छ भन्ने चासो बढेको छ। रास्वपाका सांसदहरूको पछिल्लो अभिव्यक्तिले न्यायाधीश विवाद अब संसदीय बहसको विषय बन्ने संकेत गरेको छ।









Facebook Comments