काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई सञ्चारमाध्यममाथिको ज्यादतीको संज्ञा दिएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले अदालतको पक्राउ पुर्जीबिनै सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको मान्यताविपरीत भएको टिप्पणी गरे।

ad

उनले सञ्चारमाध्यममाथि राज्यले गरेको व्यवहार राणा शासन, पञ्चायतकाल तथा निरंकुश राजतन्त्रको समयमा समेत नदेखिएको दाबी गरे। निरंकुश शासन व्यवस्थामा समेत कानुनी प्रक्रिया पूरा गरेर मात्रै कारबाही अघि बढाइने गरेको उल्लेख गर्दै उनले जनमतबाट निर्वाचित सरकारले सञ्चारमाध्यममाथि यस्तो व्यवहार गर्नु विडम्बनापूर्ण भएको बताए।

‘यस्तो ज्यादती जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको कालमा पनि भएको थिएन। राणा कालमा पनि प्रक्रिया पूरा गरेर गर्थे,’ थापाले भने।

थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सञ्चारमाध्यमप्रतिको बुझाइलाई समेत प्रश्न गर्दै प्रधानमन्त्रीका लागि मिडिया भनेको फेसबुक मात्रै भएको टिप्पणी गरे।

पत्रकारले समाचारको स्रोत गोप्य राख्न पाउने संवैधानिक अधिकार रहेको स्मरण गराउँदै उनले सञ्चारकर्मीलाई पक्राउ गरेर समाचार स्रोतको संरक्षण गर्ने अधिकार कुण्ठित गर्न खोजिएको आरोप लगाए।

कार्यक्रममा थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको प्रधानमन्त्री शाहसँग सम्बन्ध रहेको दाबीसमेत गरे। उनका अनुसार सापकोटा प्रधानमन्त्री शाह निर्वाचित भएको झापा–५ निर्वाचन क्षेत्रमा सर्वेक्षणका लागि परिचालित व्यक्ति थिए।

‘इनम सापकोटा झापामा प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रमा सर्वेका लागि परिचालित भएको व्यक्ति भन्ने जानकारी तपाईंहरूको जानकारीमा छ कि छैन ?’ उनले प्रश्न गरे।

थापाले सापकोटालाई प्रधानमन्त्रीसँग जोडिएको व्यक्ति भन्दै न्यायाधीशलाई प्रभाव पार्न सक्ने अवस्थाबारे प्रश्न उठाए। प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्ने अवस्था कसरी आयो भन्दै उनले सापकोटालाई प्रधानमन्त्रीसँग सम्बन्धित बिचौलिया भएको आरोप लगाए।

‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा बिचौलिया हुन् भने बालेनकै हुन्,’ उनले भने।

थापाका यी अभिव्यक्ति सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई लिएर आएका हुन्। उनले उक्त घटनालाई प्रेस स्वतन्त्रता, पत्रकारको स्रोत संरक्षण गर्ने अधिकार र सरकारको जवाफदेहितासँग जोड्दै आपत्ति जनाएका छन्।

पत्रकार पक्राउ प्रकरणमा सरकारले कानुनी प्रक्रिया र सञ्चारमाध्यमको संवैधानिक अधिकारलाई कसरी सम्बोधन गर्छ भन्ने विषय अब चासोको केन्द्रमा रहेको छ।