
बारा । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय घाइते भएका छन्।
गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पताल उद्घाटनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा फेटा पुगेपछि विवाद सुरु भएको थियो। अस्पतालमा आवश्यक स्वास्थ्य सेवा, दक्ष जनशक्ति र आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए।
स्थानीयको माग अस्पतालको औपचारिक उद्घाटनभन्दा पहिले आवश्यक सेवा–सुविधा र जनशक्ति सुनिश्चित गर्नुपर्ने रहेको बताइएको छ। सोही विषयलाई लिएर उनीहरूले प्रदर्शन गर्दै उद्घाटन कार्यक्रमप्रति असन्तुष्टि जनाएका थिए।
विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवाद बढ्दै गएपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थानीयका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेपछि झडप थप चर्किएको हो।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर 'भुट्टा' उपनामले चिनिने अजित पासवान घाइते भएका छन्। उनको पेटमा गोली लागेको बताइएको छ। घाइते पासवानको अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि फेटा क्षेत्रमा तनाव बढेको छ। सम्भावित थप झडप रोक्न सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
अस्पताल उद्घाटनजस्तो सार्वजनिक स्वास्थ्यसँग जोडिएको विषयमा स्थानीयको असन्तुष्टि संवाद र सहमतिमार्फत समाधान गर्नुको सट्टा प्रहरी हस्तक्षेप र गोली प्रहारसम्मको अवस्था सिर्जना भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ।
अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, स्वास्थ्यकर्मी र सेवा–सुविधा सुनिश्चित भए–नभएको विषयमा गाउँपालिकाको आधिकारिक धारणा तथा प्रहरीको गोली प्रहारबारे विस्तृत विवरण आउन बाँकी छ।









Facebook Comments